आफ्नै मनसँग दूर भएपछि
ऊ सहर पसेको हो, मजबुर भएपछि

रैती बन्दाबन्दै ज्यान गुमाउनुपर्‍यो
यहाँका राजाहरू क्रुर भएपछि 

पर्दा उठेको र खसेको पत्तै नहुने रैछ
तिमीले दिने मनोरञ्जन भरपुर भएपछि 

मलार्ई जेल भित्र बस्न बाध्य पारियो
प्यार गर्न नजानेको उजुर भएपछि ।



तिम्रो सपना पनि रहर लाग्दो रहेछ
यसले त मलार्ई खाडी पुर्‍याउँदो रहेछ 

यी भिडहरूले केही खोजिरहेको देखिन्छ
यहाँ पैसा फल्छ भनेर कस्ले सुनाउँदो रहेछ
 
बस्तीमा पसेका स्यालहरुले बिजोग गरिसके
सिंह गर्जदैन हेरौ कानुन कस्ले बनाउँदो रहेछ
 
बाँच्नु  मात्र पर्छ सब देखिन्छ भन्थे
अचेल मान्छेसँग मान्छे डराउँदो रहेछ ।





कान्छो घर फर्केको हो युद्धविराम भएपछि
आमा अलि निदाउँछिन् मनमा आराम भएपछि 

यहाँबाट आदिवासी बाँच्न मात्र भागेका हुन्
हुने खाने धनीहरूको रणसङ्ग्राम भएपछि 

आफँैले नै खोज्नुपर्छ भात खाने मेलो अब
डराउनु हुन्न रै’छ पहेँलो घाम भएपछि 

छलेर नै खेलेको हुँ लिगलिगे दौडमा म
पुरस्कारमा तिम्रो सिउँदो पहिलो इनाम भएपछि ।


चाँदनी झैँ राती मात्र उनी आउँछिन् मेरो गली
प्यासी छु म, तड्पिएको सुनी आउँछिन् मेरो गली 

कसैदेखि लुक्दै छिप्दै कसैलार्ई गिज्याउँदै
कति धेरै तानाबाना बुनी आउँछिन् मेरो गली 

टलपल टलपल आफँभित्र खसी झर्ला जस्तो
उर्लिएको मन लार्ई थुनी आउँछिन् मेरो गली 

सके जति रित्याउन आफैँ खाली हुने गरी
एकै छिन होइन जुनी जुनी आउँछिन् मेरो गली ।


किन होला बाच्न  पनि, गाह्रो हुन थाल्यो  जिबन
आफ्नो भन्दा अरुको नै, प्यारो हुन थाल्यो  जिबन 
 
जता फर्की छाम्दा  पनि चट्टानै चट्टान जस्तो
आफैलाइ फोड्नु पर्ने, सारो हुन थाल्यो  जिबन
 
सबैलाई दुखाउने, रुवाउने सबैलाई
आँखामा बिजाउने, छारो हुन थाल्यो  जिबन 
 
न त बगी दिन्छ कतै, न त अडी दिन्छ 
ठोस हो कि तरल हो, पारो हुन थाल्यो  जिबन